त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन् । यस्तै आन्तरिकतर्फ चालु ३५ विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ । १० वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन् ।
दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा ३ सयवटासम्म पुग्छ । यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ । त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन् ।
भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौं आउने क्रममा जहाज ढिला उड्यो । ढिलाइ उनकै कारण भएको थियो । उनलाई यात्रुले गालीगलौज गरेको र मन्त्रीमाथि परेको दबाबका कारण सम्बन्धित वायुसेवाले २४ मिनेट ढिलो भएको जानकारी दियो ।
असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे । उनी काठमाडौं आउन लागेका थिए ।
कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउँदा ६ घण्टा ढिलो भयो । २ बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए । चैत १९ गते वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान ४ मिनेट ढिलो हुँदा उडान रद्द भयो । कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संग्लन कर्मचारीलाई कारबाही सिफारिस गर्यो ।
कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन् । पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ । बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ ।
भीभीआईपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटैमात्र धावनमार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ । उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङस्थल कम हुँदा पर्खनुपर्ने कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थल कार्यालयको भनाइ छ । ‘दसैंपछिका शनिबार र आइतबार चिनियाँ राष्ट्रपतिको उडान व्यवस्थापन मिलाउन विमानस्थल कार्यालयलाई हम्मेहम्मे परेको थियो । जसका कारण ३ दिन चौबीसै घण्टा विमानस्थल खुला गर्नुपर्यो’, विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने । उनका अनुसार उडान व्यवस्थापन मिलाउन बाध्य भएर १८ घण्टाको उडानलाई २४ घण्टासम्म पुर्याइएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१२ मा नेपालमा सात आन्तरिक वायुसेवा कम्पनीका ३१ हजार उडान भएकामा १७ हजार उडान रद्द भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसबाट नकारात्मक सन्देश गएपछि अर्को वर्षदेखि प्रतिवेदनमा उडान रद्द उल्लेख नगरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
प्राधिकरणका उडान अनुमति शाखाका अनुसार वायुसेवाले उडान अनुमति केन्द्रीय कार्यालयबाट वर्षको दुईपटक ६/६ महिनाका लागि लिने गरेका छन् । तर, उडान रद्दको जानकारी भने विमानस्थललाई मात्रै गराउँछन् । प्राधिकरणसमक्ष सो तथ्यांक आउँदैन ।
प्राधिकरणका अनुसार विगत दुई महिनामा मासिक औसत हजार उडान रद्द भएका छन् । यस्तो उडान ‘अफ सिजन’ को उडान तथ्यांक हो । वायुसेवा उडानको सिजन तथा मौसमले साथ नदिने समयमा संख्या बढ्ने अनुमान प्राधिकरणका अधिकारीले गरे ।
सन् २०१८ मा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक लाख ३० हजार उडान भएका छन् । गत वर्ष ९५ हजार पाँच सय आन्तरिक र ३३ हजार नौ सय वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको थियो । सन् २०१९ मा यो संख्या १० प्रतिशत बढ्ने अनुमान छ ।
विमानस्थल कार्यालयका अनुसार हाल दैनिक ८० देखि ९० वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि एउटै धावनमार्गका कारण प्रायः सबै उडानमा पालो कुर्नुपर्ने हुन्छ । एउटा जहाज उड्न ढिलो भयो भने त्यसको असर अर्को वायुसेवाको उडानमा पर्ने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा ९ र आन्तरिक उडानमा १७ वटा मात्रै पार्किङ छ । अन्तर्राष्ट्रियमा सय र आन्तरिकमा ३ सय उडान व्यवस्थापन मिलाउनुपर्छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै वायुसेवाका लागि सिजन हो । बिहानको समयमा मान्उटेन फ्लाइट र लुक्ला उडान उडान जुध्छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान व्यवस्थापन मिलाउन १ घण्टा लगाउनु सामान्य भइसकेको छ । -अन्नपूर्ण पोस्टबाट