नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधि सभाका सभामुख भएका थिए। २०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा स्थानीय विकास तथा कृषिमन्त्री बनेका पौडेल त्यसपछि भने प्रतिनिधिसभाको सभामुख भएर सदन चलाए।
तर, पौडेलले आफूलाई त्यो बेला दबाबमा सभामुख बनाइएको खुलासा गरे। स्पेसखबरसँगको कुराकानीमा पौडेलले आफू सभामुख भएर सदन चलाउन परिपक्व नहुँदै सभामुख बन्नु परेको स्मरण गरे। ‘साँच्चिकै भन्ने हो भने मलाई त्यतिबेला सभामुख हुने मन थिएन। किसुनजी, गिरिजाबाबु लगायत नेताहरुले सल्लाह गरेर मलाई जबरजस्ती सभामुख बनाएका हुन्,’ पौडेलले भने।
‘त्यो समय म कांग्रेसको एउटा खराँट कार्यकर्ता थिए,’ उनले भने। आफूलाई पार्टीको सक्रिय लाइनबाट छुट्टिएर सभामुख हुन असाध्यै गाह्रो परेको पनि स्मरण गरे। ‘पार्टीको सक्रिय लाइन छोडेर संवैधानिक पदमा बस्न मनै थिएन, चाहेको पनि थिइनँ,‘पौडेलले भने,‘सभामुख बन्ने मेरो कुनै चाहना नै थिएन। सबै किसुनजी, गिरिजाबाबु लगायत नेताहरुले बसेर मलाई जबरजस्ती सभामुख बनाएका हुन्।’
उनले पार्टीका सबै नेताहरुले एउटा पोजिसन लिनु पर्छ भनेर आफूलाई सभामुख बन्न बाध्य बनाएको स्मरण पनि गरे।
एमालेको भूमिका ठीक थिएन
पौडेलले सभामुखको हैसियतमा सदनलाई अघि बढाउँदा त्यतिबेला जहिले पनि प्रतिपक्षी दल एमालेको गतिविधिले अप्ठ्यारोमा पार्ने गरेको स्मरण गर्छन्। उनी भन्छन्,‘सभामुख हुँदा सधै अल्पमतले दबाब दिएर सदन रोक्थ्यो। प्रजातन्त्र भनेको त बहुमत हो। तर, सधै सदन रोकेर ‘डिक्टेट’ गर्दा बहुमतको कदर कहाँ भयो त? त्यसैले मलाई एमालेको त्यो क्रियाकलाप मन पर्दैनथ्यो।’
अल्पमतले बहुुमतलाई ‘डिक्टेट’ गर्ने तोडफोड, आतंकबाट सदनको प्रक्रियालाई मिचेर अबरोध गर्ने कुरा अन्याय भएको उनी ठान्छन्। ‘त्यतिबेला एमाले तोडफोड र आतंकबाट सदनको प्रक्रिया मिच्थ्यो। सभामुखको हैसियतले ठीक छ विरोध गर्ने प्रतिपक्षी दलले नै हो, विरोध गरोस्, प्रतिपक्षीले आफ्ना कुरा सालिनतापूर्वक राखोस् भन्ने मलाई लाग्थ्यो,’त्यतिबेलाको कुराको स्मरण गर्दै उनी भन्छन्,‘अन्ततः निर्णयको छिनोफानो त बहुमतले गर्न पाउनु पर्यो। बहुमतलाई बन्धक बनाएर राख्नुहुन्न भन्ने हो। एमालेसँग त्यतिबेला मेरो असहमति यसमै थियो।’
पौडेलले केही समय संसद रोक्न सक्ने, सरकारलाई दबाब दिने र प्रतिपक्षी दलले आफ्नो धारणा अनुरुप भूमिका निर्वाह गर्ने कुरामा आपत्ति नरहेपनि सधै बन्धकै बनाएर कुनै निर्णय नै गर्न नदिने कुरा लोकतन्त्रको उपहास भयो भन्ने आफूलाई लाग्ने गरेको बताए। उनले भने, ‘सभामुख हुँदा कहिलेकाहीँ एमालेसँग कन्फ्रन्टेशन हुन्थ्यो।’
एमालेले धेरै पटक अप्ठ्यारो पार्यो
पौडेलले सभामुख हुँदा आफूलाई एमालेसहितका प्रतिपक्षी दलहरुले धेरैपटक अप्ठ्यारोमा पारेको बताए।
‘धेरैपटक सदन नै घेराउ गर्थे एमाले सांसदहरुले त्यतिबेला। मभन्दा अघिको सभामुख पनि सदन अबरोध गर्दा ५७ दिनसम्म सदन नचलाउने र म पछिको सभामुख तारानाथ रानाभाटजी पनि जे गर्छौं गर भनेर छोडिदिने हुनुभयो,’ उनले भने,‘तर, सदन चलाउने कुरामा सभामुखको पनि भूमिका छ भनेर सदनलाई अघि बढाउन खोज्थें। तर, पछि हट्नुपथ्र्यो कहिलेकाहीँ।’
सधै अबरोध गरेर सदनलाई बन्धक बनाउन बनाउन हुन्न भन्ने आफ्नो तर्क पेश गर्दै उनले भने,‘सदन सुचारु गर्ने विषयमा एमालेसँग मेरो कुरा अलिकति कुरा भिन्न हुन्थ्यो।’