म्यानचेस्टर सिटी र युभेन्टस् च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको छ।
गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७–० गोल अन्तरले हराएको हो।सिटी समग्रमा १०–२ को नतिजासहित अन्तिम ८ मा पुगेको हो। पहिलो लेगको खेलमा सिटीले ३–२ को अग्रता लिएको थियो।
यसैगरी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा ईटालियन क्लब युभेन्ट्स पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० को जितसहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गरेको हो। युभेन्टस् समग्रमा ३–२ को नतिजा निकाल्न सफल रह्यो।
खेलको २७ औं, ४९ औं र ८६ औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ को यात्रा तय गराए। पहिलो लेगमा लिएको अग्रतालाई जोगाउन नसक्दा एट्लेटिको मड्रिड प्रि क्वाटरफाइनलबाट बाहिरिन बाध्य भयो। घरेलु मैदानमा पहिलो लेगमा २–० को अग्रता लिएर नकआउट चरण पार गर्न नसक्ने एट्लेटिको इतिहासको चौथो क्लब बनेको छ।