इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । यस घटनामा १८० जना घाइते भएका छन् ।घटना पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कन्जुरुहान स्टेडियममा शनिबार राति भएको हो । रोयटर्सका अनुसार इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग १ को फुटबल खेल चलिरहेको थियो ।
इन्डोनेसियाको कान्जुरुहान रंगशालामा अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेल चलिरहेको थियो । पर्साबायाको टोली पराजित भयो । खेल हारेको टोलीका समर्थकले पिचमाथि आक्रमण गरेका थिए । आक्रमण रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो, जसका कारण भागदौड भएको थियो ।
घटनामा १२७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ, जसमध्ये दुई प्रहरी अधिकारी छन् । ३४ जनाको स्टेडियम भित्र घटनास्थलमै र बाँकी अस्पतालमा मृत्यु भएको थियो ।इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई) ले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।