साविक विजेता भारत साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग स्तब्ध बनेको छ ।साफ महिला फुटबलको इतिहासमा भारतको यो पहिलो हार हो । दशरथ रंगशालामा मंगलबार साँझ भएको समूह ‘ए’ को अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० गोलले पराजित भयो ।
यसअघि साफमा भारतले कहिल्यै हारेको थिएन । भारतले साफमा यसअघि खेलेका २५ खेलमा २४ जित र एक बराबरी नतिजा निकालेको थियो । भारत र बंगलादेशले यसअघि सन् २०१६ को साफ च्याम्पियनसिपको समूह चरणमा गोल रहित बराबरी खेलेका थिए । अन्यथा यसअघिका ६ खेलमा बंगलादेश भारतसँग पराजित बन्दै आएको थियो ।
भारतविरुद्ध गज्जब प्रदर्शन गरेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पराजित भारतपनि समूह उपविजेताको रुपमा सेमिफाइनमा पुगेको छ । दुवै टोली यसअघिनै अन्तिम चारमा पुगिसकेका थिए ।
सेमिफाइनमा बंगलादेशले समूह ‘बी’ को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ । उपविजेता भारतले समूह ‘बी’को विजेता नेपालसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल शुक्रबार हुनेछ ।