एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक अल्मुताइरीको ब्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् ।
खेलाडीले मंगलबारनै होटल छाडेपनि बुधबार बिहान प्रशिक्षणमा नआएपछि टोली ब्यवस्थापनलाई थाहा भएको थियो । क्याम्प छाड्नेमा टोलीका सिनियर खेलाडी रोहित चन्द देखि अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ, दीनेश राजवंशी, विशाल राई, सुमन लामा र विशाल श्रेष्ठ हुनुहुन्छ । टोलीका सिनियर खेलाडी चन्दले सुरुमा प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पाेखेका थिए।
रोहित पछिल्लो केही दिनदेखि प्रशिक्षणमा नआएपछि प्रशिक्षक र रोहितबीच विवाद भएको थियो । विवादपछि रोहितले होटल छाडेको र रोहितसँगै अन्य खेलाडीले पनि होटल छाडेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षण क्याम्प छाडेका खेलाडीसँग आफुले बुधबार कुरा गरेको बताए ।खेलाडीले क्याम्प छाडेपछि टोलीका कप्तान किरण चेम्जोङले पनि मुख्य प्रशिक्षकको ब्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको जनाए ।