प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरी पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएकाे छ।
राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए। राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए ।
राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए ।कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत भएका थिए ।