भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।
भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे। नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।
दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन । दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए ।
यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनी बिनाअवरोध सहजै गोल गर्न सफल भए । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे।
उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए । नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए ।
नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ । एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।