काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे। मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन्। खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे।
इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए। उनले १० हजार प्राप्त गरे। उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ। प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिए ।यस्तै च्याम्पियन टिम काठमाडौंका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर, धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए।
उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन चुनिए। व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे। प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए। उनले ५० हजार प्राप्त गरे। फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो। विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाल सुपर लिगका अध्यक्ष आश्रेता कार्की चौधरी लगायतले पुरस्कृत गरेने।