राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगितामा काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै प्ले अफमा प्रवेश गरेको छ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे। चितवनका राजिब लोप्चनले एक गोल फर्काए। खेलको १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका हुन्।
खेलको ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए। विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका हुन्।
त्यसपछि खेलको ४० औं मिनेटमा राजिब लोप्चनले एक गोल फर्काए पनि चितवन २–१ ले पराजित भयो। यस जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो। अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ। चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ। चितवनले ६ खेलमा २ अंक जोड्यो।