नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। दशरथ रंगशालामा बिहीबार पत्रकार सम्मेलन गर्दै एन्फाले त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन्। एन्फाका प्रवक्ता किरण राईले चैत्र १० गतेदेखि १६ गतेस्म्म हुने प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए।
प्रवक्ता राईले प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने र जसमा १ करोड ५० लाख आम्दानी गर्ने र ५० लाख फुटबल विकासका खर्चिने जानकारी दिए। यस्तै, एन्फाले प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने जनाएको छ।
उपविजेताले ३ हजार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर पाउने छन्। प्रवक्ता राईले कोरोनाको महामारीलाई मध्येनजर गर्दै १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने जानकारी दिए। दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ। एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको उनले बताए।
एन्फाका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ। किर्गिस्तानको यू–२३ टिम हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन्। उद्घाटन खेल २३ मार्चमा हुनेछ।
यस्तै, दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ। राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा कुल ४ खेल हुने एन्फाले जनाएको छ।