काठमाडौं किकर्स प्रालिको आयोजनामा शुक्रबारदेखि फुटबल क्लिनिक हुने भएको छ।
यसका लागि किकर्सले दीर्घकालीन योजनासहित स्कटल्यान्डका ली मेनसनलाई प्रशिक्षक पनि नियुक्त गरेको छ। काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल क्लिनिक संचालन गर्ने जानकारी गराएको हो।
अनुभवी प्रशिक्षक मेनसनले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव रहेको छ। उनले एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम संहालिसकेका छन्। ग्रासरुटदेखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी एकेडेमी संचालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ।
किकर्सका अध्यक्ष नवीन पाण्डेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो संस्थाको उद्देश्य व्यवसायिक रूपमा सफल नेपाली खेलाडीको उत्पादन रहेको र यसका लागि नै क्लिनिकको सुरुआत गरेको बताए।
परिचयात्मक सुरुआतका क्रममा अब आउने साता दैनिक दुई घण्टाको फुटबल क्लिनिक आयोजना गरिनेछ र त्यसमा ६–९, १०–१३ र १४–१६ को तीन उमेर समूहमा प्रशिक्षण हुने काठमाडौं किकर्सले जनाएको छ।