नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो। उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ। प्रतियोगितामा नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५० हजार प्राप्त गरे। यस्तै त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए। बागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर चुनिए। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार प्राप्त गरेका छन्।