दुई खेल अगाबै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा पनि जित निकालेको छ।
हीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे। आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ। र, सातदोबाटो ’ए’ डिभिजन लिगमा उक्लिएको छ। सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो। च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो। आरसिटीले १३ अंक जोडेर नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
यस्तै बिहीबार नै भएको अन्तिम खेलमा मध्यपुरले सखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गयो। लिगबाट पुल्चोक स्पोर्ट्स क्लब ’सी’ डिभिजनमा घटुवा भईसकेको छ। उपाधिसँगै सातदोबाटोले १५ लाख रुपैयाँ हात पारेको छ।
दोस्रो स्थानमा रहेको खुमलटारले १० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको बाँसबारीले ८ लाख र चौंथो भएको ब्वाइज युनियनले ५ लाख हात पारेका छन्। खुमलटार युथ क्लबका सबिन केसी उत्कृष्ट फरवार्ड चुनिएका छन्। यस्तै च्याम्पियन टिम सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिएका छन्। त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्द खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए। सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे। प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो।
विजेता टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे।