राजधानीमा जारी मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ।
मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो। मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो। जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। आर्मीको यो दोस्रो हार हो। आर्मीले ३ खेलमा २ अंक जोडेको छ।
यस्त,ै मंगलबार नै भएको अर्को खेलमा बागमती प्रदेशले पहिलो जित निकालेको छ। विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो। टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६ बनाउन सक्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो। जितसँगै बागमतीले ३ खेलमा २ अंक जोडेको छ। एपीएफको यो पहिलो हार हो।
एपीएफले ३ खेलमा ४ अंक जोडेको छ।