काठमाडौंमा जारी मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ।
आइतबार भएको खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो। मुलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १५० रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो। यो जितसँगै काठमाडौं मेयर–११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
यस्तै, आइतबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो। पुलिसले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो।
जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ। एपीएफ शीर्ष स्थानमा रहेको छ। पुलिसको भने यो पहिलो हार हो। पुलिसले २ खेलमा २ अंक जोडेको छ।