राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले बाँसबारीलाई हराउदै सहज जित निकालेको हो।
खेलमा सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो। सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे। खेलको १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो।
पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २–० को अग्रता लिएको थियो। खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाएका थिए। खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४–० ले अघि रह्यो।
खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४–१ को सहज जित निकाल्यो। जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ। बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काएका थिए।