विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ।
शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन्। यस्तै अनिता केसीले एक गोल गरिन्। जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो।
एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो। लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो। उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो। तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेको छ। प्रतियोतितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्। सर्वोत्कृष्ट खेलाडी बनेसंगै सरुले यामाहाको स्कुटर प्राप्त गरिन्।
यस्तै, एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्ड चुनिए।त्यस्तै, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए। उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन्। त्यस्तै फेयर प्ले चन्द्रपुरले जितेको छ।