त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै त्रिभुवन आर्मी उपाधि नजिक पुगेको हो। अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ। एपीएफ पुलिसलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल त्रिवि मैदानमा शनिबार हुनेछ।
आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुगेका टिमले ५०–५० हजार पाउने छन्। प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५–२५ हजार पाउने छन्।