राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो।
आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन्। यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन्। जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। वालिङको यो पहिलो हार हो। वालिङले २ खेलमा १ अंक जोडेको छ।
यस्तै, आइतबार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको छ। एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन्।
यस्तै, अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन्। लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले २ खेलमा ६ अंक जोडेको छ। विराटनगरको यो पहिलो हार हो।