विभागीय टिम एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न सफल भएको छ। शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो।
एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो। टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो।
नतिजासँगै समूह ए बाट सेमिफाइनलमा पुग्ने टिमको पनि टुंगो लागेको छ। समूह ए बाट एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा पुग्दा कर्णाली, प्रदेश एक र गण्डकी प्रदेश बाहिरिएका छन्। समूह विजेता र उप विजेताको टुंगो भने आर्मी र एपीएफको खेलबाट तय हुने छ।
आर्मी र एपीएफको खेल सोमबार हुने छ। यस्तै शनिबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो। जितसंगै समूह ’बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ। लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ। सुदूरपश्चिमको यो लगातार तेस्रो हार हो। हारसंगै सुदूरपश्चिम प्रतियोगीताबाट बाहिरिएको छ।