चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।
वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो ।
जितका लागि ११२ रनको सामान्य लक्ष्य वाग्मतीले ३४ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । वाग्मतीका लागि उपकप्तान पृथु बास्कोटाले अविजित ४८ रन बनाउनुभयो । यस्तै इशान पाण्डेले अविजित १७, आदिल खानले १२ तथा पारस खड्काले १७ रन बनाए। बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा पुलिसका लागि सुनिल धमलाले १७, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादव र तिलकराज भण्डारीले चार चार तथा रामनरेश गिरीले दुई विकेट लिनुभयो । यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै सम्पन्न खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीलाई ८० रनले हरायो ।
जितका लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो । कर्णालीका कप्तान रविन्द्रजङ्ग शाहीले सर्वाधिक ३०, हेमन्त ओलीले १६ तथा दीनेश अधिकारीले १२ रन बनाए।
बलिङतर्फ आर्मीका लागि सुशन भारीले चार, साहब आलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै आर्मीले ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाए। यस्तै कप्तान विनोद भण्डारीले ५५ बलमा तीन चौका र एक छक्कासहित ४१, रोहित पौडेलले ११, लोकेश बमले १३ र राजेश पुलामीले १६ रन बनाउनुभयो । बलिङतर्फ कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले दुई दुई तथा रविन्द्रजङ्ग शाही, अनुज चुनरा र युनिस सिंहले एक एक विकेट लिए ।