नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो ।
वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो । श्रीलङ्कामा जन्मिएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी हुन् ।
उनकै प्रशिक्षणमा श्रीलङ्काले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । उनले सन् २००३ देखि सन् २००७ सम्म बङ्गलादेशका प्रशिक्षकका रुपमा काम गरेका थिए । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिएका थिए । यस्तै उनले सन् २०१० र २०११ को याममा इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिएका थिए।
वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका थिए । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गरेका थिए । वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिएका थिए । त्यसपछि उनी विभिन्न देशमा प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।
क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए ।