नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि सुरू गरिएकाे छ ।
पहिलाे दिन काठमाडाैं बाहिरबाट अाएका ११ जना खेलाडीकाे परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ । बाँकी खेलाडी तथा प्रशिक्षक टिमका सदस्यहरूकाे भने भाेलि स्वाब संकलन गरिने एन्फाले जनाएकाे छ ।कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।
विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ ।
स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।
समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।