सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई पुनः नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन जना मध्येबाट सिलवाललाई नियुक्त गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ का कारण १ वर्षमै पदमुक्त भएका सिलवाल नयाँ ऐनमा व्यवस्था भएअनुसारको प्रक्रिया पूरा गरी पुनः नियुक्त भएका हुन् ।
सदस्यसचिवका लागि पहिलो पटक प्रतिस्पर्धात्मक विधि अपनाइएको हाे । सात दिने अवधिमा २७ जनाको आवेदन परेकोमा २ जना उमेरहदका कारण अयोग्य भएका थिए ।
शिक्षा व्यवसायी तथा लामो समयदेखि क्रिकेटमा सक्रिय सिलवालले गत वर्षको असार २३ गते राखेपको १८ औं सदस्यसचिवका रुपमा कार्यभार सम्हालेका थिए । उनकाे एक वर्षे कार्यकालमा १३औं दक्षिण एसियाली खेलकुद सफलतापूर्वक सम्पन्न भएकाे थियाे । उक्त खेलकुदमा नेपालले ५१ स्वर्णसहित २ सय ६ पदक जितेका थियो ।