यस सिजनको बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखको पोल्टामा गएको छ ।
कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुन्डेस लिगाको गएराति भएको खेलमा वेर्डर ब्रेमेनविरुद्धको खेलमा एक शुन्यको जित निकाल्दै बार्यनले दुई खेल अगाडीले लिगको उपाधि पक्का गरेको हो ।
यो संगै बार्यन म्युनिखले लगातार आठौं पटक जर्मन बुन्डेस लिगाको उपाधि जित्ने टोलीको सुचीमा रहेको छ ।
ब्रेमेनको घरेलु मैदानमा भएको खेलमो बार्यनको जितमा रोबेर्ट लेवान्दोस्कीको एकमात्र गोलले बार्यनले उपाधि जित्न सफल भयो । अघिल्लो खेल प्रतिबन्धका कारण गुमाएका लेवान्दोस्कीले ब्रेमेनविरुद्ध ४३ औं मिनेटमा अग्रता बनाएका थिए । उनले जेराम बोटेङको पासको सदुपयोग गरेका थिए ।
रेलिगेसन जोनमा रहेको ब्रेमेनले त्यसपछि पनि खेलमा फर्कने राम्रा मौका पाएको थियो । तर सफल भएन ।
पछिल्ला आठ सिजनमा लगातार उपाधि जित्न सफल बार्यनले लिगमा दुई खेल अगाडी नै उपाधि पक्का गरेपछि बोरुसिया डर्टमुण्ड दोस्रो स्थानमा रहने संभावना बलियो भएको छ ।
यता ब्रेमेनलाई यो हारले रेलिगेसनमा पर्ने संभावना कायमै रहेको छ । बार्यनको ३२ खेलमा ७६ अंक छ भने दोस्रो स्थानका डर्टमुण्डको ३१ खेलमा ६६ तथा ब्रेमेनको ३२ खेलमा २८ अंक बटुलेको छ ।