कोरोना भाइरसको महामारीको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को महत्वकांक्षी कार्यक्रम ‘राष्ट्रिय लिग’ नै अनिश्चित बनेको छ । वैशाख—जेठमा आयोजना गर्ने भनिएको राष्ट्रिय लिगको छनोट नै सकिएको छैन ।
कोरोना भाइरसले नेपालमा पनि संकट सिर्जना गरेपछि चलिरहेको उपत्यकाको सहिद स्मारक बी डिभिजन लिग ५ चैतसम्ममात्रै सम्भव भयो । त्यसयता फुटबलका सबै किसिमका प्रतियोगिता ठप्प छ । मोफसलका प्रतियोगिता पनि रोकिएका छन् । महिला लिग र राजधानीको सी डिभिजन लिग पनि स्थगित भयो । ललित स्मृति यू १८ र स्कुल स्तरको क्वीक्स कप पनि अनिश्चित बनेको छ ।
जिल्ला लिगको विजेताले प्रदेश लिग खेल्ने र प्रदेश च्याम्पियनले एन्फा प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्ने गरी एन्फाले राष्ट्रिय लिगको छनोटको आधार बनाएको थियो । सात प्रदेशका च्याम्पियनहरूको प्रतिस्पर्धापछि एन्फा प्रेसिडेन्ट कपको शीर्ष चारमा रहने क्लबहरू राष्ट्रिय लिगमा छनोट हुने भनिएको थियो ।