पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ ।
भारतको ग्रेट स्पोटर््स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त रङ्गशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको रङ्गशालाका आयोजना प्रबन्धक इन्जिनीयर दीपक बरालले जानकारी दिए। उनले भने, “हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ । बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ ।” गत वर्ष फागुन २४ गते शिलान्यास गरिएको उक्त रङ्गशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौतमा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रङ्गशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पुर्याएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रङ्गशालामा आम दर्शक, भिआइपी, अपाङ्गता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिए ।
अहिले करीब ९० प्रतिशत काम सकिएको छ ।” बरालले चैत महिनाभित्र रङ्गशालाको काम सम्पन्न गरिसक्ने जानकारी दिए । एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्र्याक रहेको छ ।