विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका फरवार्ड समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ’ए’ डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए । जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ । थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङको २२ अंक रहेको छ ।
थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा रहेको छ । यस्तै मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे ।