ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।
ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ ।
नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।