आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ ।
ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । ब्याटिङ गर्ने क्रममा ओमानका लागि मोहमद नदिमले ६९ रन बनायाे । उनले दुई छक्का र पाँच चौका प्रहार गरे ।
यस्तै सन्दिप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाए । ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहको रुपमा पहिलो विकेट गुमाएको थियो । उनलाई करन केसीले एक रन बनाएको अवस्थामा पेभेलियन फर्काएका थिए । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खबर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गरेका हुन् । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट भए । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गर्ने क्रममा नेपालको शुरुआत राम्रो रहेन । नेपालले चौंथो ओभरमा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्रलाई गुमायो । त्यो बेला नेपालको स्कोर मात्र चार रन थियो । यस्तै खेलको पाँचाैं ओभरमा टोलीको स्कोर चार रन छँदा पारश एक रन बनाएर आउट भए । नेपालले आठ ओभरमा दुई विकेट गुमाएर मात्र १२ रन बनाउन सकेको थियो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले नेपालको पारीलाई उकासे । दुवै जनाले ६२ रनको साझेदारी गरे ।
नेपालले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमायो । नेपालका लागि पहिलो छक्का उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलको १७औँ ओभरमा प्रहार गरेका थिए । यस्तै कलिमउल्लाहको बलमा ३९औँ ओभरमा सन्दिप लामिछानेले नेपालका लागि तेस्रो छक्का प्रहार गरे। बलिङतर्फ ओमानका लागि जेशन मक्सुदले तीन, बिलाल खान र कलिमउल्लाहले दुई दुई तथा मोहमद नदिम, खवर अली र एक्विब लियासले एक एक विकेट लिए । यस सिरिजको पहिलो खेलमा नेपालबाट सुशन भारी र अभिनाश बोहरा तथा ओमानबाट बादल सिंहले डेब्यु गरेका थिए । खेलको म्यान अफ दी म्याच ओमानका मोहमद नदिम घोषित भए। सिरिजको दोस्रो खेल बिहीबार ओमान र अमेरिकाबीच हुनेछ ।