काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लवले थ्री स्टारसंग बराबरी खेलेको छ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी, थ्री स्टारसंग २–२ को बराबरीमा रोकिएको हो। खेलको १९औं मिनेटमा भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए।
पुजन उपरकोटीले ह्यान्ड गरेपछि बक्सबाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गोल गर्न सफल भएका थिए। ३१औं मिनेटमा अन्जन विष्टको फ्रिकिकलाई गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे। खेलको ३९औं मिनेटमा लालरम्मावियाको पासमा शिव सुवेदीको प्रहार पोस्टबाट थोरै बाहिरिदा थ्री स्टारले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो।
४९औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। अशोक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गोल गर्न सफल भएका थिए। ६७औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई खेलमा २–१ को अग्रता दिलाए। ८४ औंं मिनेटमा लालरम्मावियाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ।
यस्तै, शनिबार नै भएको पहिलो खेलमा पुलिसले जाउलाखेल युथ क्लवलाई दुई शुन्य गोलले हरायो। सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले सुरुवात देखि नै जाउलाखेलमाथि केहि दबाव दिएको थियो। जसमा उसले खेलको २६ औं मिनेटमा अग्रता बनायो। पुलिसका सौजन्य राईले गोल गर्न सफल भए। उनले हेड मार्फत गोल गरे।
त्यसपछि दुबै टिमबाट खासै राम्रो मुभ हुन सकेन र पुलिस पहिलो हाफमा एक शुन्यले अगाडि रह्यो। दोस्रो हाफका सुरुवातमा नै पुलिसले अग्रता दुई शुन्यमा पुर्यायो। यसपटक उसका लागि ४८ औं मिनेटमा सुमन लामाले गोल गरे। जसका कारण पुलिसले जाउलाखेल विरुद्ध दुई शुन्यको अग्रता बनायो। त्यसपछि जाउलाखेल खेलमा फर्कन सकेन र पुलिसले तीन अंक हासिल गर्यो। जितसँगै पुलिसले सात खेलमा ११ अंक बनाएको छ। जाउलाखेलका सात खेलमा नौ अंक छ।