रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा भएको सेमिफाइनलमा भ्यालेन्सियालाई तीन–एक गाेल अन्तरले हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो। रियलको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक–एक गोल गरे।
१५औँ मिनेटमा क्रुजले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए। क्रुजले प्रहार गरेको कर्नर किक भ्यालेन्सियाका गोलकिपर जाउमे दोमेनेचले पन्च गरेका थिए। त्यही बल पाएका क्रुजले डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए।
त्यस्तै ३९औँ मिनेटमा इस्कोले गोल गर्दै पहिलो हाफअघि रियल मड्रिडको अग्रता दुई–शून्यमा पुर्याए। ६५औँ मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई तीन–शून्यकाे अग्रता दिलाए।
इन्ज्युरी समयको दोस्रो मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पायो र त्याे पेनाल्टीलाई डानी पारेजोले गोलमा परिणत गरे। उपाधिका लागि रियलले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार राति हुँदैछ।