सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मसर््याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे ।
मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे ।खेलमा सुरुवाती अग्रता भने मनाङले बनाएको थियो । खेलको दोस्रो मिनेटमा फेमीको गोलमा मनाङले अग्रता बनाएको थियो। उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको मछिन्द्र दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४७ औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई १–१ गोलको बराबरीमा फर्काए ।
मनाङविरुद्ध आक्रामक खेल खेलेको मछिन्द्रले ८१ औं मिनेटमा एडिलाजाको गोलबाट २–१ को अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी विमलले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै मनाङलाई हारबाट जोगाए । मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ । यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।