शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । विजय घलानको पासलाई उनले डिबक्स बाहिरबाट पोस्टको जाली चुमाएका थिए । त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । उनले च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएको रिबाउन्डमा गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफमा च्यासल हाबी भएको थियो । तर, च्यासलले गोल गर्न सकेन । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।