शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेलहरु सोमबारदेखि शुरुहुदैछ। सातदोवाटो र दशरथ रंगशालामा हुँदै आएको प्रतियोगिताको चौथो चरणका सबै खेल भने सातदोेवाटोमा हुने भएका छन्।
दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो। आगामी बुधबार नयाँ वर्ष २०२० को अवसरमा रंगशालामा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम दशरथ रंगशालामा गरिँदैछ। चौथो चरण अन्तर्गत सोमबार दुई खेल हुनेछन्। जसमा मछिन्द्र क्लब र न्यू रोड टिम (एनआरटी) बीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ।
यस्तै मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ। अहिले मछिन्द्र तालिकाको तेस्रो स्थानमा छ भने एनआरटी छैटौं स्थानमा छ। सोमबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि भएपनि शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ।
एनआरटी विजयी भए तेस्रो स्थानमा उक्लने छ। यस्तै सोमबार नै दिउँसो ३ बजे फ्रेण्ड्स र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुने छन्। मनाङ जारी लिगमा अपराजित रहको छ भने फ्रेण्ड्स क्लब पहिलो जितको खोजिमा हुने छ।