पोखरा प्रिमियर लिग पीपीएलको उपाधि पारस खड्का कप्तान रहेको चितवन राइनोजले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो। यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन्। जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनायो।
विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले सर्वाधिक ५७ रनको योगदान दिए। रोहन मुस्तफाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने क्रममा आलम भुवन कार्कीबाट क्याच हुनुअघि ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। दोस्रो ओभरको पहिलो बलमै ओपनर सुनिल धमलालाई सन्नी पटेलले ४ रनमा बोल्ड आउट गरे।
करण केसीको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बमलाई बाबर हायतले स्टेटमा १ रनमा उत्कृष्ट क्याच लिएपछि विराटनगर दबाबमा परेको थियो। दुई पाकिस्तानी ब्याट्सम्यान नोमन खान र मोहम्मद जैद आलमले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। दशौं ओभरको पाँचौ बलमा नोमन खान तीन रन लिनेक्रममा आरिफ शेखले सिधै स्टम्पमा ताकेपछि १८ रनमा पेभिलिएन फर्किनु परेको थियो। नोमनले खानले १८ बलमा २ चौका प्रहार गरे।
तल्लोक्रममा भारतीय अलराउन्डर पुनित मेहराले १३ बलमा २ चौका र ३ छक्का ३२ सहित रन जोड्दै खेललाई रोमान्चक बनाएका थिए। पुनित १८ औं ओभरको अन्तिम बलमा विक्रम शोबबाट क्याच आउट भए। कप्तान प्रदीप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे। करणको बलमा आरिफ शेखले डिप एक्स्ट्रा कभरमा डाइभ दिँदै उत्कृष्ट क्याच लिएपछि विराटनगरको आशा समाप्त भएको थियो। चितवनका लागि सन्नी पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। करणले ३ तथा रोहन मुस्तफाले १ विकेट लिए।
त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। चितवनका अनिल कुमार शाहले ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए। अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए।
अनिल आउट भएको तीन बलपछि रोहन मुस्तफापनि ५० रनमा आउट हुन पुगे। रोहन नोमन खानबाट ५० रनमा समातिन पुगे। रोहनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। तेस्रो विकेटका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३।२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए। पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे।
तल्लोक्रममा आरिफ शेखले ११ बलमा १ चौका र २ छक्का सहित १९ रनमा जितेन्द्र मुखियाबाट क्याच हुन पुगे। आरिफलाई १९ औं ओभरको पहिलो बलमा जैदले क्याच गराएका थिए। सन्नी पटेल ८ बलमा २ चौका सहित १६ रनमा अविजित रहे। करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे।
विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ र किशोर महतोले १ विकेट लिए।