शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो ।
पुलिसका अञ्जन राईले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिनु परेको थियो । दोस्रो हाफमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलको ४६औँ मिनेटमा पुलिसका लागि सुमन लामाले गोल गर्नुभएको थियो भने ७९औँ मिनेटमा भोलानाथ सिलवालले गोल गरे। सिलवालले खेलको अतिरिक्त समयमा अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् ।
खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसका सुमन लामा भए । उनलाई गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले ट्रफी वितरण गरे । पुलिसले चार अङ्क बटुलेको छ । लगातार तीन खेलमा पराजय भोगेको सरस्वती क्लब अङ्क तालिकाको अन्तिम स्थानमा छ ।