पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ। पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। बिराटनगर प्रदिप ऐरीको कप्तानीमा रहेको छ भने धनगढीको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले गर्नेछन्।
गत संस्करणको पीपीएलमा यी दुई टोली लिग चरणमा खेलेका थिए। जसमा धनगडीले बिराटनगरलाई ७८ रनले पराजित गरेको थियो। मैदान उत्रँदा दुवै टोली सुखद सुरुवात गर्न चाहन्छन्।
यस्तै, दिउँसो पौने १ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्ससंग खेल्नेछ। उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको काठमाडौँ दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न चाहन्छ। यस्तै, बुटवल समेत सुखद सुरुवातको लक्ष्यमा रहेको छ। बुटवलको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। गत संस्करणको लिग चरणको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको थियो।