मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुवात गरेको हो । गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।
करिब आधा दर्जन राष्ट्रिय टिमका खेलाडीसहित मैदान उत्रिएको मछिन्द्रले ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता बनाएको थियो । बिशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि रिबाउन्ड बलमा योगेशले गोल गरेका थिए ।
त्यसअघि खेलको १९ औं मिनेटमा रंजित धिमालको फ्रिकिक पोस्ट बारमा लागेर फर्किदा मछिन्द्र अग्रता बनाउन चुकेको थियो । ब्रिगेडका कप्तान अनिल गुरुङले हेमन गुरुङलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो ।
४४ औं मिनेटमा मछिन्द्रका दिपकले अग्रता दोब्बर बनाउने मौका गुमाए । तर, खेलको ५० औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ । दशरथ रंगशाला हिलाम्ये भएपछि अन्तिम समयमा खेल सातदोबाटो स्थित एन्फा मैदानमा सारीएको थियो ।