१९८४ मा नेपालबाट सुरु भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करण मंगलबार काठमाडौंमा सम्पन्न भयो। सागका हरेक संस्करणमा सहभागी नेपालका लागि १३ औं साग पदकका हिसाबले ऐतिहासिक रह्यो।
आठौं सागमा ३२ पदक हात पारेर दोस्रो भएको नेपालको खेल त्यसपछिका दिनमा सम्झनालायक भएन। तर २० वर्षपछि १३ औं सागमा ५१ स्वर्ण जित्दै दोस्रो पटक सागको पदक तालिकामा आफूलाई दोस्रो स्थानमा राख्न सफल भयो ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक हात पारेर। यसलाई सरकार, राष्ट्रिय खेलकुद परिषद्लगायतले ठूलै उपलब्धि मानेका छन्।
खेलाडीले पदक ल्याउनु राष्ट्रका लागि पक्कै पनि प्रतिष्ठाको बिषय हो। तर कुन वातावरणमा प्रशिक्षण पाएका खेलाडीले कसरी पदक हात पार्न सके, त्यसमा राज्यले कति लगानी गर्यो भन्ने कुराचाहिँ सरकारले बुझ्न जरुरी हुन्छ।
पौडीमा गौरिका सिंहले चार स्वर्ण जितेर सनसनी मच्चाइन्। यसैगरी मण्डेकाजी श्रेष्ठ, आयशा साक्य र सुवास तामाङले २–२ स्वर्ण हात पारेका छन्। सागको तयारीका लागि २६ मध्ये २१ खेलका लागि वैदेशिक प्रशिक्षण दिलाइएको थियो। तर सर्वाधिक चार स्वर्ण जित्ने गौरिकामाथि राज्यको लगानी शुन्य छ। लण्डनमा बस्ने सिंहले त्यहाँ आफ्नै खर्चमा प्रशिक्षण लिइरहेकी छन्।
पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बुधबार बालुवाटारमा बोलाएर सम्बोधन गरे। त्यसक्रममा उनले स्वर्ण पदक विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र काँस्य विजेतलाई ३ लाख नगद पुरस्कार घोषणा गरे। साथै, दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रत्येक स्वर्णवापत ११ लाख प्रदान गर्ने पनि प्रधानमन्त्री ओलीले घोषणा गरे।
२ वा सोभन्दा बढी स्वर्ण जित्नेले पाउने रकमबारे खेलकुद परिषद्कै पदाधिकारी अन्योलमा छन् भने सरकारले पनि स्पष्ट गर्न सकेको छैन। बिना गृहकार्य यस्ता घोषणा गर्ने अनि कार्यान्वयनमा चासो नदेखाउने नमिठो विगत भोग्ने धेरै छन्। त्यसकारण अहिलेको घोषणा कतै त्यस्तै हुने त होइन भन्ने आशंका पनि उत्ति नै छ। नेपाली खेलाडीले हात पारेका २०६ वटा मेडललाई नगद पुरस्कार दिँदा राज्यको ढुकुटीबाट ठूलै खर्च हुन्छ।
बालुवाटारको घोषणामा व्यक्तिगततर्फ ९ लाख पाउनेले टिम इभेन्टको स्वर्ण जित्नेलाई ५ लाख दिने भनियो। टिम इभेन्टकै रजत र काँस्यको कुरा छुटाए भने प्रशिक्षक र म्यानेजरलाई दिने पुरस्कारबारे प्रधानमन्त्रीको घोषणा मौन छ। घोषणा सभामै खेलकुद पदाधिकारीले यसबारे प्रधानमन्त्रीलाई पटक–पटक ध्यानाकर्षण गराउँदा उनले चासो दिएनन्।
टिम इभेन्टमा स्वर्ण विजेतालाई पुरस्कारको घोषणा गरिए पनि रजत र काँस्य विजेताका बारेमा कहीँकतै उल्लेख छैन। फुटबल, कराते, तेक्वान्दोमा टिम इभेन्टमा स्वर्ण जितेको नेपालले बास्केटबल, कबड्डी, भलिबल लगायतका टिम इभेन्टमा रजत पाएको थियो। यी विजेताले कसरी, के आधारमा पुरस्कार पाउँछन् भन्ने अन्योल खेलाडीबीच कायमै छ।
स्वास्थ्य अवस्था ठीक नभएकाले सागको उद्घाटन र समापनमा सहभागी नभएका प्रधानमन्त्री ओलीले खेलाडीलाई पुरस्कार घोषणा गर्दा ४५ मिनेट भाषण गरे। खेलाडीलाई उत्प्रेरणा दिने ठोस कुरा नआएपछि बालुवाटारमै खेलाडीले असन्तुष्टि जनाएका थिए।
नेपाली फुटबल टिमका गोलकिपर विकेश कुथुले व्यक्तिगत र टिम इभेन्ट भनेर विभेद गरिएको भन्दै आपत्ति जनाए। भन्छन्, ‘व्यक्तिगतमा जितेको स्वर्णको गणना पनि एक नै हुने र टिममा जितेको स्वर्णको पनि गणना एक हुने भएकाले विभेद गर्न हुँदैन।’ उनको कुरालाई सही नै मान्ने हो भने पनि स्वर्ण पदक जितेको नेपाली फुटबल टिममा २३ जना सदस्य छन्। यसमा १८ खेलाडी र अरु अफिसियल हुन्। १८ खेलाडीले ५ लाखका दरले पाउँदा ९० लाख त्यही खर्च हुने छ भने प्रशिक्षकलाई ५ लाख दिने भनिसकिएको छ भने अरु अफिसियलको घोषणा हुन बाँकी छ। यसले पनि ठूलो रकम खर्च हुने अवस्था छ।
सरकारले पुरस्कार त घोषणा गर्यो तर कहिले दिने भन्नेबारे अन्यौल छ। राज्यले खेलाडीलाई पुरस्कार प्रदान गर्नुले खेलाडीलाई प्रोत्साहन थप्ने काम पक्कै गर्नेछ। यसमा कसैको दुुईमत छैन। तर त्यसका लागि कम्तिमा कार्यविधि बनाउनै पर्छ। जुन कार्यविधि अहिलेसम्म बनेको छैन। यो काम तत्काल अघि बढाउनु पर्दछ। र प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार दिन ढिलाइ गर्नु हँुदैन। घोषणा कार्यान्वयनमा जति ढिला हुन्छ, त्यति खेलाडी निराश हुनेछन्। जसको असर पाकिस्तानमा हुने १४ औं सागमा पर्नेछ।
एन्फाको पुरस्कारः ‘हिस्स’ खेलाडी
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०६७ सालमा उत्कृष्ट खेलाडी घोषणा गर्दै फुटबल र राकेश श्रेष्ठलाई अपार्टमेन्ट दिने घोषणा गर्यो र २०६८ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले उनलाई अपार्टमेन्टको डमीसमेत हस्तान्तरण गरे। तर उनलाई अपार्टमेन्ट दिइएन। त्यसपछि लाजमर्दो के भयो भने एन्फा कार्यसमितिले अपार्टमेन्ट दिन नसकिएको भन्दै ५ लाख रुपैयाँ दिने निर्णय गर्यो।
त्यसपछि अपार्टमेन्ट दिने घोषणा गरिएका तत्कालीन कप्तान सागर थापा, गोलरक्षक रितेश थापालगायतले पनि डमीमात्रै पाए। तर उपेन्द्रमान सिंहले २०६२ र हरि खड्काले २०६३ मा कार पुरस्कार पाए।