१३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ। सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ। महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो। डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन्। उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन्।
अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन्। बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए। नयाँ पत्रिकामा खबर छ।