१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए। तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए। अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए।
त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए। जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ। नेपालले ३ खेलमा ७ अंक जोडेको छ। र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ।