१३औं साग खेलको करातेमा व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मन्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।
मन्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन् ।
बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए । मन्डेकाजीले फाइनलमा पुग्न २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए ।
यसैबीच नेपाललाई दोस्रो स्वर्ण हात पारेको छ । ट्रायथोलनकी सोनी गुरुङले महिलातर्फको स्पर्धामा पदक दिलाएकी छन् । पोखराको लेकसाइडमा सोमबार भएको प्रतियोगितामा नेपालकी सोनीले दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।
ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत हात पारिन् भने सरोजानी देवीले कास्य हात पारिन् ।
सोमबारै भएको ट्रयाथोलन (पुरुष) मा भने नेपालले कास्यमै चित्त बुझाउनु परेको छ । भारतले भने स्वर्ण र रजत पदक हात पार्यो ।
यसैबीच तेस्रो स्वर्ण पदक भने कमल श्रेष्ठले हात पार्न सफल भएका छन् । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा उनले नेपालका लागि पदक जितेका हुन् । योसँगै सागमा नेपालको ३ स्वर्ण, एक रजत र एक कास्य भएको छ ।