यूएईमा भइरहेको टी १० क्रिकेटमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्सले पहिलो जित हात पारेको छ। कर्नाटका टसकर्स १९ रनले विजयी भएको हो।
कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोड्न सक्यो। एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाए पनि हार टार्न सकेनन्।
कर्नाटका टसकर्सबाट खेलिरहेका सन्दीप टी १० को पहिलो खेलमै टिममा परेका थिए। दिल्ली बुल्सविरुद्ध उनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै सनसनी मच्चाए। १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई आउट गरेका हुन्। उस्मान ८ रन बनाए आउट भए। सन्दीपले व्यक्तिगत पहिलो विकेट लिए पनि टिमका लागि भने तेस्रो सफलता दिलाए।
दोस्रो ओभरमा भने सन्दी महँगो सावित भए। टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे।
टस हारेर पहिला ब्याटिङ गरेको सन्दीप आवद्ध टिम कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो।
कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए।दिल्लीका लागि रवि रामपौलले दुई तथा डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए।