भारतीय पूर्व क्रिकेट सचिन तेन्दुलकरले आज कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने भएका छन्। खेल विहान १० बजेपछि शुरुहुने छ। खेल १०–१० ओभरको हुने छ।
युनिसेफको सद्भावनादूत समेत रहेका सचिनले अन्तर्राष्ट्रिय क्रिकेटका सवै फरम्याटबाट सन्यास लिइसकेका छन्। उनी युनिसेफको सहयोगमा गएराति काठमाडौं आइपुगेका हुन्।
कीर्तिपुर मैदानमा आज सचिनले बालबालिकासँग क्रिकेट खेल्ने छन्। त्यसका लागि नेपालले पनि विशेष व्यवस्था मिलाएको छ। बालबालिकासँगको खेलमा एउटा टिमको नेतृत्व सचिनले गर्दा अर्को टिमको नेतृत्व नेपालका पूर्व कप्तान विनोद दासले गर्ने छन्। दासले पनि नेपाली क्रिकेटबाट सन्यास लिइसकेका छन्।
बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई नेपाल ल्याएको हो।
यस अघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्कर र महेन्द्र सिंह धोनीले नेपालको भ्रमण गरेका थिए।
त्यस्तै दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका थिए। युनिसेफले सचिनसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ। त्यसमा महिला र पुरुष दुवै छन्।