नेपाली महिला भलिबल टोली ऐतिहासिक उपलब्धिनजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधिनजिक पुगेको हो । नेपालले आज माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तान सहभागी छन् । राउन्ड रोबिन लिगअनुसार बुधबार नेपालले माल्दिभ्सलाई समूह चरणमा ३-० को सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा अपराजित टिमको रुपमा फाइनलमा स्थान बनाएको छ । नेपालले सबै खेलमा ३-० कै सेटमा नतिजा आत्मसात् गरेको छ ।
नेपाली महिला भलिबल टिमले २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो भएको थियो । आज (बिहीबार) नेपाल विजयी भए स्वर्ण पदक हात पार्नेछ । २०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए ।
जारी प्रतियोगितामा भारत र श्रीलंका सहभागी छैनन् । समूह चरणमा माल्दिभ्समाथि सहज जित हात पारेकाले नेपाली टिम उपाधिको सबैभन्दा ठूलो दाबेदार मानिन्छ ।
नेपाली टिम मंसिरमा नेपालमै आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि छ । थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गरी सेन्ट्रल जोन खेल्न आएको टिमले सिकेका कुराहरु लागू गरेको प्रशिक्षक जगदीश भट्टले बताए । उनले यो प्रतियोगिताले सागमा थप फाइदा पुग्ने उल्लेख गरे ।
नेपालले माल्दिभ्समाथि हिजो (बुधबार) समूह चरणको अन्तिम खेलमा पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेट २५-५ र २५-१३ ले जितेको थियो । नेपाल र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो पौने ३ देखि सुरु हुनेछ ।