बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।
मिरपुरमा रहेको इन्डोर स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । स्वर्ण पदक जित्ने लक्ष्य साथ नेपाली टिम बंगालदेश आएको हो ।
नेपालले अहिलेसम्म शतप्रतिशत नतिजा आत्मसात् गरेको छ । पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा बलियो मानिएको कीर्गिस्तानलाई पराजित गरेको हो । दुवै खेलमा नेपालले ३-० को सेटमा जित निकाल्न सफल भयो ।
अब समूह चरणमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध पनि सहज जीतको खोजीमा रहनेछ । नेपालले बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दीभ्ससँग खेल्नेछ । राउन्ड रोबिन लिगको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले एभीसी सेन्ट्रल जोनलाई काठमाडौंमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा हेरिएको छ ।