इंग्लिस प्रिमियर लिग शीर्ष स्थानको लिभरपुलले अर्को उपाधि दाबेदार तथा साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ ।
सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि होडमा आफूलाई अब्बल प्रमाणित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेलमा सिटीलाई ३-१ ले पराजित गर्दा लिभरपुलले पहिलो हाफमा २ गोल गर्यो । अंक तालिकामा लिभरपुलले ८ अंकको अग्रता बनाउन सफल भयो ।
पहिलो हाफमा दुवै गोल सानदार काउन्टर अट्याकमार्फत सम्भव भएको थियो । फाबिन्होले छैटौँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । उक्त गोल हुनुअघि सिटीले लिभरपुलको डी-बक्समा पुर्याएको बल ह्यान्ड भएको थियो । तर, सोही बललाई काउन्टरमा लिभरपुलले गोल गर्न सफल भयो ।
लिभरपुलको अग्रता दोब्बर बनाउने क्रममा मोहमद सलाहाले १३औँ मिनेटमा हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा पनि सिटीमाथि लिभरपुलको गोल कायम रह्यो । साडियो मानेले ५१औँ मिनेटमा घरेलु टोलीका लागि तेस्रो गोल गरेका थिए । ३ गोलले पछि परेको सिटीलाई बेर्नाल्डो सिल्भाले ७८औँ मिनेटमा खेलमा फर्काउने कोसिस गरे । तर, त्यसपछि थप गोल गर्न असफल भयो ।
जितसँगै लिभरपुल १२ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ । सिटी २५ अंकसहित चौथो स्थानमा छ । लेस्टर सिटी २६ अंकका साथ दोस्रो स्थानमा छ । चेल्सीको पनि समान २६ अंक छ तर गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ ।