युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनको दावी छ ।
शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौमा आयोजना गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए । उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए ।
मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी व्यक्त गरे । आफूहरु सरकारमा आएपछि उक्त प्रतियोगिता समयमै गर्नेगरि अभिभारा र अवसरको रुपमा लिएको र सोहीअनुसार काम गरेको पनि उनले सुनाए । उनले साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको जिकिर गरे ।
उनले सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि जानकारी दिए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले बताए ।